काठमाडौं । नेपालमा जारी १३ औं सागमा शुक्रबार र शनिबार साइकल दौडका इभेन्ट राखिएका छन् । दुई दिनसम्म राजधानीको स्तरीय सडकमा साइकल दौड हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार हुने साइकल दौड प्रतियोगिताका लागि कलंकीदेखि सूर्यविनायकसम्मको सडक प्रयोग हुन लागेको सूचित गरेको छ ।
यस सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले सर्वसाधारणसँग अनुरोधसमेत गरेको छ ।
महाशाखाका अनुसार शुक्रबार कलंकीबाट कोटेश्वरसम्म र शनिबार कलंकीबाट सूर्यविनायकसम्मको सडकखण्डमा साइकल दौड आयोजना गरिदैछ ।
प्रहरीले कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोठिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरेको छ ।
उक्त दिन त्यस क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापन र सागको सफलतामा सहयोग गर्नसमेत प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
सागको सफल आयोजना गरी ठूलो इभेन्ट आयोजनामा नेपाल सक्षम छ भनी देखाउने आयोजको प्रतिवद्धता रहेको छ ।