काठमाडौं । सुँगुरको मृगौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा गरिएको शल्यक्रियाको दुई हप्तापछि ६२ वर्षीय उनलाई बुधबार घर पठाइएको थियो ।
आनुवंशिक रूपले परिमार्जित सुँगुरको अङ्ग प्रत्यारोपण विगतमा धेरै पटक असफल भएको थियो। तर यो प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा प्रशंसा गरेका छन्।
अमेरिकाको बोस्टन शहरमा रहेको हार्वर्ड मेडिकल स्कुलको सबैभन्दा ठूलो शिक्षण अस्पताल एमजीएचले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
म्यासाचुसेट्स राज्यको वेमाउथका रिचार्ड रिक स्लेम्यान नाम गरेका ती बिरामीको मृगौलाको अन्तिम चरणको रोगसँग जुधिरहेको र अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका थिए ।
उनका चिकित्सकहरूले १६ मार्चमा चार घण्टा लामो शल्यक्रियामा आनुवंशिक रूपमा सम्पादन अर्थात जेनिटिकल्ली एडिटेड गरिएको सुँगुरको मृगौला सफलतापूर्वक उनको शरीरमा प्रत्यारोपण गरेका थिए।
उनका अनुसार स्लेम्यानको मृगौलाले अहिले राम्रोसँग काम गरिरहेको छ र उनी अहिले डायलासिस गर्नुपर्दैन । स्लेम्यानले एक विज्ञप्ति जारी गर्दै अस्पताल छोडेर घर जान पाउनु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण भएको बताएका छन् ।