भारतीय अर्थतन्त्रबाट लाभ लिन चाहन्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा सरकार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघ प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा उनले भारतीय अर्थतन्त्रबाट लाभ लिने गरी नीति बनाइने बताए । भारतीय अर्थतन्त्र राम्रो हुँदा नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

‘भारतको आर्थिक वृद्धि अघिल्लो वर्ष पनि राम्रो थियो । यो वर्ष पनि राम्रो हुने देखिएको छ,’ मन्त्री पुनले भने, ‘भारतीय अर्थतन्त्र सुधार हुँदा एक हदसम्म नेपालमा पनि त्यसको राम्रो प्रभाव पर्छ ।’ उनले सन् २००८ को आर्थिक मन्दी र कोरोना महामारीका बेला भारतीय अर्थतन्त्र नबिग्रिएका कारण नेपली अर्थतन्त्र मन्दीको प्रभावबाट छिट्टै सुधारिएको उनको भनाइ थियो । मन्त्री पुनले नेपालमा थप लगानीमैत्री वातावरण बन्दै गएकाले लगानी ल्याउन पनि अपिल गरे ।

‘विगतमा पनि भारतीय लगानीकर्ताको नेपालमा राम्रो योजना छ,’ उनले भने, ‘तेस्रो लगानी सम्मेलनको सँघारमा म यसअघि लगानी गरिरहेकालाई लगानीको क्षेत्र विस्तार गर्न आग्रह गर्छु र नयाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्ने नीति रहेको जानकारी गराउन चाहन्छु ।’ आफूले यसअघि ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेको स्मरण गर्दै अर्थमन्त्री पुनले नेपालमा ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

लगानी सम्मेलनका लागि भारतीय लगानीकर्ताको राम्रो उपस्थिति हुने विश्वास व्यक्त गरेका पुनले लगानीमैत्री वातावरण बनाउन एक दर्जन कानुन संशोधन गर्न लागिएको बताए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरीले नेपालमा लगानी ल्याउन भारतीय लगानीकर्ता सकारात्मक रहेको उल्लेख गरे । भेटमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।