अमेरिका ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात् ‘नेजा डे’ को रुपमा मनाउन सुरु गरेको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

नेजाले स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारी, नेजाका संस्थापकहरू, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष, पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघका अभियन्ताहरूको सहभागितामा अप्रिल २१ आइतबार विद्युतीय माध्यम जुममार्फत बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तरक्रियामा प्रवासको पत्रकारिताका विविध आयाममाथि सहभागिहरूले धारणा राख्नुभएको थियो । नेजाले क्षेत्रगत रुपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सास राज्यको युलेस र म्यासाच्युसेट्स राज्यको बोस्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइयो ।
नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो । रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाइएको बताउँदै नेजाका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि विझिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताउनुभयो । अध्यक्ष भण्डारीले नेजा र नेपाल पत्रकार महासंघबीचको सम्झौता र सहकार्यबाट धेरै कुरा गर्न सकिने बताउनुभयो । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेजाले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ ।

नेजाले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्सासको युलेस सहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी, अप्रिल २१ मा टेक्सासको डालसमा रहनुभएका पत्रकारसँग शुभकामना साटासाट गरेको थियो भने म्यासाच्युसेट्स राज्यको बोस्टनमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको थियो । यस्तै, अप्रिल २२ मा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 2-x1, डालास एभरेस्ट लायन्स क्लबसहितका लायन्स क्लबहरूसँगको सहकार्यमा टेक्सासको अर्भिङ सहरमा रहेको जेफरसन पार्कमा वृक्षरोपण गरिएको थियो ।