सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी

काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सम्मेलनमा ८ सय विदेशीसहित २५ सय भन्दा धेरै पाहुना सहभागी भएका थिए । नेपाल लगानीकर्ताका लागि उपयुक्त थलो हो भन्ने सन्देश प्रवाहका लागि यो सम्मेलन फलदायी भएको सरकारको दावि छ । तर, ठूला परियोजनामा लगानीकर्ता आकर्षित भएर लगानी घोषणा नभएको यो सम्मेलन कर्मकाण्डमै सकिएको छ ।

सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू शोकेसमा राखेको थियो । शोकेसमा राखेका यस्ता परियोजना भविष्यमा लगानीकर्ता आकर्षित गर्न सफल हुने विश्वास सरकारको छ । सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना शोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न सकेको छैन ।

फलस्वरूप यस्ता परियोजनाहरू लगानीको पर्खाइमा मात्र सीमित बन्न पुगेका छन् । यसका बाबजुद सोमबार केही सम्झौता र समझदारीहरूमा हस्ताक्षर भने भएको छ । यसरी लगानी घोषणा गरिएकामा पनि गैरआवासीय नेपालीहरूको लगानीको हिस्सा देखिन्छ ।

तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ । जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको ड्राफ्ट आदनप्रदान गरेका छन् ।

सम्मेलनकै अवसरमा सोमबार रारामा रिसोर्ट खोल्ने अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको छ । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । सोमबार नै नेपाल उद्योग व्यापार महासंघ ९एफएनआईसी० र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे ।

नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासंघका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सोमबार नै चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्ने सम्बन्धी दुई समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच समझदारी भएको हो । सोमबार नै नेपाल उद्योग व्यापार महासंघ ९एफएनआईसी० र चाइना दोङ्‍गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ समेत सहभागी भए ।

सोमबार सार्वजनिक निजी साझेदारीमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको छ । ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ ९नाप० बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको हो । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे ।

समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभा–सम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशन तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

साखः ग्रुपले होटलमा भित्र्याउने गरी सम्झौता गरेको छ । साखः ग्रुपले नेपालमा होटल क्षेत्रका लागि वैदेशिक लगानी भित्र्याउने जनाएको छ । तेस्रो लगानी सम्मेलनका दौरान सोमबार यसबारे सम्झौता भएको छ । सोमबार साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच करोडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको हो ।

यसअघि आइतबार दुई वटा सम्झौता भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्धिपक्षीय सम्झौता भएको हो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाईले हस्ताक्षर गरे ।

यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्ने बारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ । सम्झौतामा बीएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीईओ सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

लगानी सम्मेलनकै दौरान उद्योग विभागबाट ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । विभागले विभिन्न चार वटा उद्योगका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको जनाएको छ । भक्तपुरमा लगानी कम्पनीका लागि ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन बनाउन ३ अर्ब रुपैयाँ बराबरको लगानी यस दौरान स्वीकृत भएको थियो । कैलालीमा लघु जलविद्युत् र ललितपुरमा होटल तथा रेस्टुरेन्ट बनाउन समेत लगानी स्वीकृत भएको विभागले जनाएको छ ।