चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता

काठमाडौं । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।
यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ। कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीका अनुसार यहीँ वर्षबाट गाडी उत्पादन सुरू गर्ने योजना छ।

ुहामीले पहिलोपटक मुलुकमै विद्युतीय गाडी उत्पादन गर्न लागेका हौं। गाडी उत्पादनका लागि प्रविधि उपकरण सबै चिनियाँ हुनेछ, गाडी भने नेपाली ब्राण्डमै बिक्री गरिनेछ, पुरीले भने। प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए। कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए। पुरी निजी विद्यालयको छाता संगठनको पूर्व अध्यक्ष हुन्।