काठमाडौं । जापानी विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी आगामी आइतवार काठमाडौं आउने बताइएको छ । उक्त भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भने तय नभएको समेत बताइएको छ । तर, दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने भएको छ ।
जापानले दुई देशबीच अर्को वर्ष कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्न लागेको भन्दै यो भ्रमणले त्यसलाई थप टेवा दिनसक्ने विश्वास व्यक्त गरेको छ। कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य अनि पूर्वाधारका क्षेत्रमा नेपाल र जापानबीच सहकार्यको सम्भावना छ । हालैका महिनाहरूमा भारत, चीन र अमेरिकाबाट नेपालमा भइरहेका भ्रमणका शृङ्खलाहरूमाझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्रीको तहको भ्रमण हुन लागेको हो।
फ्रान्स र श्रीलङ्कासहित छ वटा देशहरूको भ्रमणको कार्यसूची अन्तर्गत कामीकावाले नेपाललाई आफ्नो अन्तिम गन्तव्य बनाएकी हुन्। काठमाडौंस्थित जापानी राजदूतावासले जापानको सर्वाधिक अग्लो पर्वत माउन्ट फुजीको मुन्तिर अवस्थित सिजुओका प्रिफेक्चरकी कामिकावाको यो पहिलो नेपाल भ्रमण भएको बताएको छ ।
“जापान र नेपालले लामो समयदेखिको विकास सहकार्य र जनस्तरको सम्बन्धमा आधारित गहिरो सम्बन्ध कायम राखिराखेका छन्,” राजदूतावासको विज्ञप्तिमा छ। “जापानी राजदूतावासले उनको यस पटकको भ्रमणले सन् २०२६ मा कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने दौत्य सम्बन्धलाई थप बलियो बनाउन सकारात्मक गति दिनेछ।”