काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।
कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीनरतीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे । लखनउका नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एकएक विकेट लिए ।