काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् ।
यो पुल ४ सय २० मिटर लामो हुनेछ । १२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिलेको रहेको पुलभन्दा उत्तरतर्फ रहनेछ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ ।
नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवातजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो । तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गर्ने हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ बर्ष भित्र सक्ने सम्झौता भए पनि एक बर्षको समय गुज्रिसकेको छ ।
ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।