इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

MEHR NEWS AGENCY\BBC

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् ।

फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। उता, निर्वासनमा रहेको विपक्षी समूह पिपुल्स मुजाहिदीन अफ इरानले “मृत्युदण्ड र नरसंहारका लागि बदनाम इरानी सत्ताका निम्ति राष्ट्रपतिको मृत्यु ठूलो धक्का भएको” प्रतिक्रिया दिएको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई दिएका छन्। समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाएको छ । त्यसअघि इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरेका थिए। उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो। त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।