काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री सहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ । उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् ।
महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।
२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।