काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० इआर जहाजमा उड्दा उड्र्द आएको घातक झड्काका कारण मानवीय क्षति भएको छ । मंगलबार लण्डनबाट सिंगापुर आइरहेको जहाजमा प्राविधिक समस्या देखिएको थियो । जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य थिए । मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्।
१८ जना घाइते अस्पताल भर्ना भएका छन् । १२ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको सिएनएनले उल्लेख गरेको छ। त्यस्तै बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ।
टर्बुलेन्सका कारण विमानमा गम्भीर गडबडी भएको र विमान स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो। सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमले आफ्नो सामाजिक सञ्जालमार्फत् मृतकको परिवार र प्रियजनहरूप्रति समवेदना व्यक्त गरेका छन् ।