आज साग फूटबलको फाइनल, बन्ला इतिहास ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको आज अन्तिम दिन, आज विभिन्न ५ इभेन्टको फाइनल प्रतिस्पर्धा हुदैछ ।

त्यसमध्ये पुरुष फूटबलको फाइनलमा स्वर्ण पदकका लागि नेपाल र भूटान मैदानमा उत्रिदैछन् । खेल अपरान्ह ३ बजेबाट प्रारम्भ हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलपछि साग समापनको कार्यक्रमसमेत प्रारम्भ हुनेछ ।

नेपाल फूटबलको साविक विजेता हो । १२ औं सागमा भारतमा भएको खेलमा भारतलाई नै हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यसपटक नेपालका लागि फेरी मौका आएको छ । आज स्वर्ण जितेमा यो नेपालका लागि १३ वटा सागमा चौथो उपाधी हुनेछ । यसअघि भारत र पाकिस्तानले मात्र नेपालभन्दा बढी स्वर्ण जितेका छन् ।

आजै बास्केटबलका पुरुष र महिलातर्फका फाइनल खेल संचालन हुँदैछन् । बास्केटबलमा नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतको सामना गर्ने भएको छ ।

जुडोमा आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल राखिएको छ । बक्सिङका ८ स्वर्ण पदकका लागि आज फाइनल प्रतिस्पर्धा हुँदैछ ।