बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरेको छ । उनको स्थानमा जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई नियुक्त गरेको छ। जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् ।

२०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो। पूर्व स्पेनी मिडफिल्डर जाभीले जनवरीमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। तर अप्रिलमा लापोर्टाले उनलाई क्लबमा राख्न सहमत गराएका थिए। तर जाभीको भर्खरका टिप्पणीले क्लब रिसाएको थियो। जाबीले क्लबको आर्थिक संघर्षको बारेमा बोलेपछि लापोर्टा रिसाएका थिए।