काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले हराएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए। त्यस्तै गुल्सन झाले २०, सन्दीप जोराले २१, कप्तान रोहित पौडेलले २३, कुशल मल्लले १२ र करण केसीले नट आउट १० रन जोडे।
ओपनर आशिफ शेख ४ रन बनाएर आउट हुँदा कुशल भूर्तेल एक रनमै पेभिलियन फर्के। ह्युस्टनसँग नेपालले आइतबार बिहान दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ। नेपालले जेठ १४ मा क्यानडा र जेठ १७ मा अमेरिकासँग खेल्नेछ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।