विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

आजदेखि भने नेपालले टी–२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो। टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ। क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्।

करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पनि विश्वकप खेल्न पठाउने तयारी क्यानले गरेको छ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी २० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको छ। चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर २ को दुई समूहका शीर्ष २२ टोली सेमिफाइनलमा पुग्नेछन्।