काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग हारेको छ । क्यानडाले नेपाललाई ६३ रनले हरायो । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गर्नु परेको ेथियो । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।
त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।
सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो । डिलोन हेलिगरले २।३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २(२ विकेट लिए । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।
त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।