एजेन्सी । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।
भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०.३ डिग्री सेल्सियस मापन भएको छ। तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो।
उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । राजस्थानमा गर्मीका कारण सात दिनमा ५५ जनाको मृत्यु भइसकेको छ । बिहारमा बुधबारमात्रै ८० विद्यार्थी गर्मीका कारण बेहोश भएका छन् ।