विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । क्विन्टन डी ककले २७ बलमा १ चौकासहित सर्वाधिक २०, रिजा हेन्ड्रिक्स ४, एडेन माक्ररम १२, ट्रिस्टन स्टब्स १३ र डेविड मिलरले ६ रन बनाए ।

श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २, दासुन शानका र नुवान थुसराले एक–एक विकेट लिए । त्यसअघि नासौं काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अल आउट भयो । श्रीलंकाका एन्जिलो म्याथ्युजले १६ बलमा २ छक्कासहित १६ रन बनाए । कुशल मेन्डिसले ३० बलमा १ चौकासहित सर्वाधिक १९ र कामिन्दु मेन्डिसले ११ रन बनाए ।

श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुईरदुई विकेट लिएका थिए । समूह डी को दोस्रो खेलमा मंगलबार ग्राण्ड प्रेरी रंगशाला डालसमा नेपाल र नेदरल्यान्ड्सबीच राति ९ः३० मा सुरु हुनेछ ।