नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी

काठमाडौं । आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो । बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएका थिए । नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो र सोमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।