इतिहास बनाउन नेपाललाई बंगलादेशको १०७ रनको टार्गेट

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Dipendra Singh Airee of Nepal reacts during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौं । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो । नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे ।

अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए । कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५।४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो ।

अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११।४ ओभरमा ६१(६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।