बिष्णु सिंह (बैजु )
१७ जुन २०२४, न्युयोर्क।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकी हाउस कांग्रेस प्रतिनिधि कंग्रेसवुमन ग्रेस मेंग नेपालीहरुको ईमिग्रेसन समस्याबारे जानकारी लिन उपस्थित भएका छन् । कंग्रेसवुमन मेंगलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई कार्यालयमा स्वागत गरेका थिए। कांग्रेसवुमनले करीब डेढ घण्टाको समय दिनु भएको यस ऐतिहासिक, विशेष भेटघाट एवं समसामयिक विषयहरूमा छलफल एवं ध्यानाकर्षण कार्यक्रममा समसामयिक विषयहरू एवं अमेरीकामा भएका आप्रवासीका विविध समस्याहरू तथा सोका समाधानका विषयमा छलफल भएको थियो । नेपाली समुदायका सदस्यहरुले कांग्रेसवुमन ग्रेस मेंगसॅंग प्रत्यक्ष आ-आफनो अध्यागमनका मुद्दाहरू कसरी प्राथमिकता पाउॅंछ भन्ने प्रश्न गरेका थिए।

कतिपय सदस्यहरुको अध्यागमनका मुद्दा ७ बर्ष देखि १५ बर्षसम्म पनि कुनै सुनुवाई नभएको जिकीर गरे। यसैक्रममा कांग्रेसवुमन मेगंले, तपाईहरुको समस्याका समाधानका लागि म आफै अध्यागमनका प्रतिनिधिहरूसॅंग प्रत्यक्ष संलग्नता हुदै तपाईहरुको मुद्दालाई छिटो र सजिलो बनाउॅंन कसरत गर्ने छु, भन्नु भयो र तपाईहरुको कुनै पनि कार्यका लागि मेरो कार्यालयमा फ्लसींग या फोरेस्ट हिल्सको कार्यालय समयमा स्वागत छ भन्नु भयो। उहाँलाई स्वागत गर्न फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, सुर्य सिंमखडा, फाउन्डेशनका सदस्य बिकास कुवॅंर, पुर्ण तामागं, सुजल सिंमखडा, समाजसेवि ईन्द्र तामांग, कोरियोग्राफर गोविन्द राई, UKROAकी पुर्व अध्यक्ष एंव समाजसेवी मुना राई, एनआरएनए युएसए न्युयोर्ककी महिला सचिव एंव समाजसेवी गिता अधिकारी, हामी नेपाली ग्लोवल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे, कलाकार महादेव त्रिपाठी, गिनीज बुक विश्व रेकर्ड होल्डर दिनेश सुनार पार्कर, महिला उद्यमी सुष्मिता श्रेष्ठ लगायत ५७ जनाले कार्यालयका टोलीसॅंग भेटघाट एंव आ-आफ्ना समस्यावारे समाधानका लागि प्रत्यक्ष कुराकानी गरेका थिए।

कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नो टीमका सदस्यहरूको परिचय गराई वहाँलाई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो। वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधि गर्दै आएको र स्थापनादेखि कोरोनाकहरको डरलाग्दो अवस्था व्यहोर्दै हालसम्म गर्दै आएका सामाजिक गतिविधिवारे प्रष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत बस्न र काम गर्न योग्य भएता पनि स्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ति व्यहोरेको भन्दै कांग्रेसवुमन ग्रेस मेंगलाई ध्यानआकर्षण गराउॅंनु भयो।
परिचयका क्रममा वरिष्ठ समाजसेवी ईन्द्र तामांगले वर्षौंदेखि परिवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातना व्यहोरीरहेको हुँदा एक जिम्मेवार सांसदको हैसीयतले यथासक्य शिघ्र कानुनी रूपमा हल गरीदिन वहाँसमक्ष अपिल गर्नु भयो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउनुभयो। सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा तैनाथ हुंदा अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्यहरु सुनाएका थिए । त्यस्तै अर्का सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा समाजको सेवामा खटीँदै आएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनि खटीरहने प्रण गर्नुभयो र वॅंहाले आफ्नै रेस्टुरेन्ट टेस्ट अफ लाहोरबाट चिया र समोसा प्रायोजन गर्नु भएको थियो।
व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफलगरि माननीय कांग्रेसवुमन आदरणीय ग्रेस मेंगसँग खुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय मेंगले आफु यहाँका जनताद्वारा चुनीएको एक जनप्रतीनीधिको हैसीयतले कुनैपनि पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागिपरेको प्रष्ट पार्दै सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेषगरी जटील बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पार्नुभयो।
वहाँले आफुले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छासमेत जाहेर गर्नुभयो। कांग्रेसवुमन आदरणीय ग्रेस मेंगले अमेरीकामा जीपि फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गर्न पाउॅंदा निकै हर्षित भएको र यति राम्रो कार्यालय रहेछ भन्दै प्रसंसा गर्नु भयो र अबदेखि प्रत्यक महिनामा एक पटक यसरी नै भलाकुसारी गर्दै प्रत्यक्ष संम्वाद, आवस्यकता अनुसार फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ति सिविर संचालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागीपर्ने बचनबद्दता समेत व्यक्त गर्नुभयो।
अन्त्यमा फाउन्डेशनको तर्फवाट अध्यक्षले कांग्रेसवुमन ग्रेस मेंग र वॅंहाको ५ सदस्य टोलीलाई फाउण्डेशनको कार्यालयमा उपस्थित भई अमेरिकी संघीय एजेन्सीहरूसँग के कसरी सहायता प्राप्त गर्ने भन्ने बारे बृहत छलफल गर्न पाएकोमा फाउन्डेशले आभार व्यक्त गरेका थिए ।