काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी सहभागि छन् ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।