काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको हो।
योसँगै उपत्यकावासी यही शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ।
दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो। समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गर्नुपर्ने हुन्छ।
गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठुलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो। जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ। यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ।
दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनः वितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो।
मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको छ । धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको छ । काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ ।
राससको सहयोगमा