२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८–८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । आवका सुरुवाती महिनामा वाह्यको तुलनामा आन्तरिक ऋण हिस्सा धेरै भए पनि अहिले वाह्य ऋण उकालो लागेको देखिन्छ । सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा ५०।३२ प्रतिशत र आन्तरिक हिस्सा ४९।६८ प्रतिशत छ ।

कार्यालय प्रमुख दीर्घराज मैनालीका अनुसार आर्थिक वर्षका सुरुवाती महिनामा वाह्य ऋणको तुलनामा आन्तरिक ऋण बढी देखिन्छ । यसो हुनुमा वाह्य ऋणको प्राप्ति हिस्सा आर्थिक वर्षको अन्तिमतिर बढी हुनु हो । अर्कातर्फ, सरकारले कम लागत र बजार असर नपर्ने गरी आन्तरिक ऋण उठाउने योजना बनाएको हुन्छ । यस वर्ष बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर समेत कम रहेका कारण सरकारले सुरुवाती महिनामा बढी आन्तरिक ऋण उठाएको थियो ।

तर, आव अन्तिमतिर जाँदा आन्तरिक ऋणको बढी सावाँ भुक्तानी तथा वाह्य ऋण प्राप्तिसमेत बढ्दा समग्र सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा आन्तरिकको तुलनामा बढी भएको छ । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ४२ प्रतिशत हाराहारी छ । वाह्य ऋण जीडीपीको तुलनामा २१ प्रतिशतभन्दा केही बढी छ । वाह्य ऋणमध्ये बहुराष्ट्रिय निकायको ऋण १० खर्ब ७१ अर्ब छ भने अन्य देशसँग नेपालले लिएको ऋण १ खर्ब ३६ अर्ब बराबर छ ।

सरकारले चालु आव ११ महिनामा ३ खर्ब ७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो आन्तरिक तथा वाह्य दुवै हो । यस अवधिमा १ खर्ब ९७ अर्ब भुक्तानी भएको छ । २०८० असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड थियो । जेठ मसान्तसम्म आन्तरिक ऋण प्राप्ति २ खर्ब २५ अर्ब छ । वाह्य ऋण प्राप्ति ८२ अर्ब ६७ करोड छ । यस वर्ष सरकारले आन्तरिक र वाह्य गरी कुल ४ खर्ब ५२ अर्ब लिने लक्ष्य राखेको थियो ।

जेठ मसान्तसम्म प्राप्ति भने ३ खर्ब ७ अर्ब रुपैयाँमात्र भएको छ । बाँकी एक महिनामा लक्ष्य पूरा गर्न सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिनुपर्छ । यसमध्ये आन्तरिक ऋण उठाउन लक्ष्यभन्दा १५ अर्ब कम छ भने वाह्य ऋण उठाउन लक्ष्यभन्दा १ खर्ब ३० अर्ब रुपैयाँ कम रहेको तथ्यांकमा देखिन्छ । जेठसम्मको वाह्य प्राप्ति लक्ष्यको ३८ प्रतिशतमात्र हो ।