दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार

काठमाडौं । भक्तपुरको दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका कृष्णबहादुर बोहरा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ। घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सीसीको मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला, चोरी तथा लुटपाट गर्दा लगाएको कपडा, खुकुरीलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।