काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो।
प्रत्येक घटनामा मृत्युको कारण के थियो भनेर भनिहाल्न मिल्ने अवस्था छैन। यद्यपि कराचीमा सहरको तापक्रम ४० डिग्रि भन्दा माथि पुगेपछि मृतकको सङ्ख्या वृद्धि भएको छ। सापेक्षित आर्द्रता उच्च रहेकाले प्राय ४९ डिग्रि सम्म हुने जस्तै गर्मी महसुस गरिएको विवरण आएका छन्।
गर्मीबाट आक्रान्त धेरै मानिस सहयोग खोज्दै अस्पताल पुगेका छन्। कराचीस्थित सिभिल अस्पतालमा मात्र आइतवारदेखि बुधवारसम्ममा हीटस्ट्रोक भएका २६७ जनालाई भर्ना गरिएको उक्त अस्पतालको आपतकालिन विभागका प्रमुख डा इमरान सरवर शेखले बताए। तीमध्ये १२ जनाको मृत्यु भएको छ । शेखले बीबीसीसँग भने, अस्पतालमा आएका अधिकांश मानिसहरू ६० देखि ७० वर्षका छन्। केही ४५ वर्षसम्मका र दुई जना त २० वर्षका समेत थिए।
उनका अनुसार अस्पताल आएका मानिसहरूमा बान्ता आउने, पखाला लाग्ने र उच्च जरो आउने जस्ता लक्षणहरू देखिएका थिए। उनले भने, “हामीले जाँच गरेका अधिकांश मानिसहरू घरबाहिर काम गर्थे। हामीले उनीहरूलाई उच्च तापक्रममा काम गर्दा प्रशस्त पानी पिउन र हल्का लुगा लगाउन भनेका छौँ।”