काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलमा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २–० गोलले हराउँदै अर्जेन्टिना अपराजित क्वाटरफाइलनमा प्रवेश गरेको हो। अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्यो । यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो।
आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा दुवै गोल लाउटारो मार्टिनेजले गरे। उनले ४७ औं र ८६ औं मिनेटमा गोल गरे। अर्जेन्टिना रहेको समूह ‘ए’बाट क्यानडा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ। आजै भएको खेलमा गोलरहित बराबरीको नतिजा निकाल्दै क्यानडा क्वाटरफाइनलमा पुगेको हो। उक्त समूहबाट चिली र पेरू बाहिरिएका छन्।