वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ ।
मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मन गरिएको हो । पुरस्कृत हुनेमा एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आएका चन्द्रप्रसाद बस्नेत पुरस्कृत भए ।


जनही ७५ हजार रुपियाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद सङ्ग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा पुरस्कृत भए । उनीहरुलाई श्रममन्त्री डोलप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।


देशमा नै रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यमी बनेका उद्यमीलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीको पुरस्कारका लागि आवेदन आएको थियो ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा ‘उत्कृष्ट राष्ट्रिय पुरस्कार’ बाट एक जना र ‘उद्यमी राष्ट्रिय पुरस्कार’ बाट प्रत्येक प्रदेशबाट एकएक जनाका दरले सात जना सफल उद्यमी युवालाई पुरस्कृत गरिएको हो ।