६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा घटेर ७६ हजारमा सीमित भएको छ ।

जुन २०२३ मा भारतबाट ३८ हजार ८ सय ४५ पर्यटक आएकोमा जुन २०२४ मा ३७ हजार ८ सय ३५ भारतीय मात्र नेपाल भ्रमणमा आएका छन् । यस वर्ष जुन महिनामा चीनबाट ७ हजार ४ सय ९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ मा पर्यटक आगमन १६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । तर, ६ महिनासम्मको तथ्यांकले उक्त लक्ष्य भेट्न मुस्किल हुने देखिन्छ । ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल आएको देखिन्छ ।

सरकारको लक्ष्य भेट्न २०२३ को तुलनामा ५८ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ । जुन महिनामा अमेरिकाबाट आउने पर्यटक संख्या समेत ओरालो लागेको छ । जनमा अमेरिकाबाट ८ हजार २ सय ८१ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना ८ हजार ४ सय ७० नेपाल आएका थिए ।

त्यस्तै बेलायतबाट १ हजार ९ सय ६९ आएका छन् । अघिल्लो वर्ष १ हजार ९ सय ९२ आएका थिए । बंगलादेशबाट आउने पर्यटक भने उल्लेख्य बढेका छन् । त्यहाँबाट ३ हजार ८ सय ५७ पर्यटक आएका छन् । जुन २०२३ मा २ हजार ४ सय २ मात्र आएका थिए ।