काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।