काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जिते पारेको छ ।
लेबरको जित अघिल्लो आम निर्वाचनको तुलनामा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याइपछिको यो दोस्रो ठुलो सफलता हो ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रीटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टयामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् । पूर्व रक्षामन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रसलगायतले पराजय बेहोरेका छन् ।
कन्जभेटिभका १२ जना बहालवाला क्याबिनेट मन्त्री निर्वाचनमा पराजित भएका छन् । वेल्स राज्यमा कन्जरभेटिभ शून्यमा सीमित भएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहनु भएका सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् । उनले आफूले हारको जिम्मा लिँदै मतदाता र सहयोगीसमक्ष क्षमा मागेका छन् ।
उनले स्टयामरलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना दिए । निर्वाचनमा तेस्रो ठुलो दलको रूपमा उदाएको लिबरल डेमोक्याट्रिक पार्टीले सन् १९२३ पछि पहिलो पटक ऐतिहासिक सफलता हात पार्दै ७१ सिटमा विजयी भएको छ ।
दक्षिणपन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराज पहिलो पटक निर्वाचित भएका छन् । स्कटल्याण्डको प्रभावशाली पार्टी स्कटिश नेसनलिष्ट पार्टीले अत्यधिक सिट गुमाएको छ । कन्जरभेटिभप्रति मतदाताको विश्वास घटेकाले लेबरले उल्लेखनीय जित पारेको बुझाइ विश्लेषकहरूको छ ।