काठमाडौं । मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुमध्ये १७ वटा शव फेला परेको छ। तीमध्ये ९ जनाको सनाखत भएको छ भने ६ पुरूष र २ महिलाको भने सनाखत हुन बाँकी रहेको एपिएफ सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल साह, चितवनका २२ वर्षीय विकास परियार, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, भारतका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतकै ३० वर्षीय सजाद अन्सारी, बाराका ४३ वर्षीय परमान्नद पण्डित, चन्द्रनिगाहपुरका ४३ किशोर कुमार चौधरी (गणपतिका चालक) र भरतपुरका २२ वर्षीय सुदिप विक छन्। १७ वर्षीय फिरोज राहुप मिया भनिएकाको शव भने दुई फरक आफन्तले दाबी गरेकाले दुबिधा भएको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका थिए। अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्।
शवहरू नारायणी नदीदेखि भारतको गण्डक तलसम्म फेला परिरहेका छन्। गत शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।