सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो ।
सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।
बा ४ ख ४४६८ नम्बरको रिजर्भ बसका चालक भने फरार रहेका छन् । घाइते यात्रुहरुका अनुसार बस पल्टन थालेपछि चालक झ्यालबाट हाम फालेका थिए ।
प्रहरीका अनुसार उनको खोजी कार्य जारी रहेको छ । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको ज्यान गएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ र १५ वर्षकी रोशनी तामाङ छन ।
२८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङको समेत दूर्घटनामा ज्यान गएको छ ।
दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेतको पनि मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र ३५ वर्षकी मैयाँ केसीको पनि ज्यान गएको छ ।
दुई जनाको सनाखत हुन बाँकि छ । घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।