काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । मौसमविद्हरुका अनुसार कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुनेछ ।
मनसुनमा रातिको समयमा धेरै पानी पर्ने गर्छ । अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । तर अघिल्लो दिनको तुलनामा मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ । गत १२ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ ।
सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१.६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।