पाकिस्तानमा साम्प्रदायिक हिंसा, कम्तिमा ४३ मारिए

काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीच भएको भूमिसम्बन्धी विवादमा साम्प्रदायिक हिंसा भएको छ । घटनामा ४३ जनाको हत्या भएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो ।

अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो । सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसीले जनाएको छ ।

त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायका छन् । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो ।