काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान र सरकारको लगानीमा निर्माण हुने परियोजना अन्तर्गत तीनवटै सबस्टेसन निर्माणको ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माण गर्न भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेसँगै तीनवटै सबस्टेसनको ठेक्का लागेको हो । बुधबार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालबीच सो सम्झौतामा हस्ताक्षर भएको हो ।
टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङले यो सबस्टेसन ३ करोड ८८ लाख अमेरिकी डलर (करिब ५ अर्ब १६ करोड रुपैयाँ) मा निर्माण गर्ने गरी सम्झौता भएको एमसीए नेपालले जनाएको छ । यसअघि नुवाकोटको रातमाटे सबस्टेसन निर्माणका लागि पनि यही कम्पनीसँग सम्झौता भएको थियो । यी दुवै सबस्टेसन एक हजार मेगाभोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसन मध्येका हुनेछन् ।
नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ । कार्यक्रममा ऊर्जामन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने बताए । आयोजना समयमै सम्पन्न गर्न उनले सरोकारवालालाई आह्वान गरे ।
एमसीसी अनुदानका परियोजना सम्पन्न हुँदा नेपालको औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अर्थ मन्त्रालयका सचिव एवम् एमसीए नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले बताए ।
समावेशी एवम् दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट साझा सफलताको कथाको महत्त्वपूर्ण अंग बन्ने नेपालका लागि अमरिकी राजदूत डिन आर। थम्प्सनले बताए ।
एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण भएको बताए ।एमसीसीको अनुदान अन्तर्गत तीन बसस्टेसनका साथै काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन पनि निर्माण हुँदै छ ।
त्यसमध्ये १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको एमसीए नेपालले जनाएको छ । यो परियोजनाको ठेक्का सम्झौता यही साउनमा हुने तयारी रहेको पनि एमसीए नेपालले जनाएको छ ।
बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको एमसीए नेपालले जनाएको छ । त्यस्तै, सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसन सम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको पनि एमसीएले जनाएको छ । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।
त्यसमध्ये ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना यो बजेटबाट कार्यान्वयन हुनेछन् ।
यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए । कम्पनीहरूले गरेको सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।