काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने तयारी थालेको छ । सो बारे नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।
अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा यहाँका नेपाली थप आशावादी बनेका थिए ।
डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी आएर संवाद गरेका छन् ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया पुगेका छन् ।
उनीहरुले सो मुलुकको सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा), पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग बिभिन्न छलफल समेत गरेका छन् ।