फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य

न्युयोर्क

अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासीको संस्था फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्ना) ले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ । इष्ट रिभर किनारमा अवस्थित क्वीन्स ब्रिज पार्कमा सम्पन्न भेलामा उपस्थित करिव डेढ सय नुवाकोटेहरुले जिल्लाबासीहरुको समस्या समाधानको लागि भविष्यमा ५० हजार डलरको अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत तय गरेको छ ।

संस्थाको अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा संस्थापक अग्रजद्वय बिज्ञान खनाल र बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमले डायस्पोरिक नुवाकोटबासीको यो संस्थालाई प्रवासको सुखदुख बिसाउने गैह्र राजनैतिक संस्थाकोरुपमा लैजानु पर्ने भनाई उपाध्यक्ष भुवनमान डंगोलले जोडका साथ राखेका थिए ।

सचिव देवकी पाण्डे पन्तले सञ्चालन गरेको भेलामा खानपान तथा स्थानको व्यवस्थापन सक्रिय सदस्य रामेश्वर खनाल तथा कोषाध्यक्ष देबेन्द्र लामाले गरेका थिए ।

कार्यक्रममा एउटै जिल्लाबासीको रुपमा हुर्किएकोले हामी भावनात्मकरुपमा नजिक भएको तथा प्रवासमा हुर्किरहेका हाम्रा बालबच्चाहरुबीच पनि एकापसमा नजिक र भातृत्व बनाइ राख्न यस्तो भेलाले महत्वपूर्ण भूमिका खेल्ने भनाई पण्डित हरि अधिकारीले राखेका थिए । आपसी सदभाव बढाउन कार्यक्रममा बिभिन्न खेलकुद तथा नाचगान समेत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले प्रतिकुल मौसमका बाबजुद पनि उत्साहजनकरुपमा उपस्थित भई जिल्लाबासी तथा नेपालीको हितमा कार्य गर्ने उद्देश्यले देखाएको जिल्लाबासीको उर्जाउपर सराहना गर्दै समापन गरेका थिए ।