अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ । अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ ।

सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ । सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ । त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ । ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ ।

अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ । १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ । सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समयअनुसार साँझ ६ः४० बजे यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ ।

त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो । सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समय अनुसार साँझ ६ः४० मा यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ ।

नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ । नेपाली समय अनुसार साँझ ६ः४० सम्म कारोबार भइरहँदा यो सूचक ५.९८ प्रतिशत झरेर १७४४७ अंकमा झरेको छ । जापानी स्टक मार्केट निक्की सोमबार १२।७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ ।