हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विहीबार विहान एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका छन् ।


सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

मन्त्री पाण्डेले बुधबार नै दुर्घटनास्थल मा जाने तय भएकोमा हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्ने तय भएकाले संभव भएको थिएन ।


मन्त्री पाण्डेको सचिवालयले बुधबार राती एक प्रेस नोट जारी गर्दै यस अघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा अति आवश्यक बाकहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो ।