स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण

काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेनले उपाधी जितेको हो । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४–३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन । एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफको आधा घण्टामै ३–१ को अग्रता बनायो ।