काठमाडौं । पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ स्थानमा रहन पुगिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषी भन्दा पछाडी एक जना मात्र धावक रहिन् । ११ जना धावकले भने दौड बीच बाटोमै छाडेका थिए । संतोषिले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन् । उनकै नाममा २ घन्टा ४० मिनेटको राष्ट्रिय कीर्तिमान रहेको छ ।
कठिन मानिएको पेरिसको म्याराथन उनले आफ्नै राष्ट्रिय कीर्तिमान भने पार गर्न सकिनन् । गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा १० हजार मिटरमा दौडिएकी सन्तोषी सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन्। त्यो नेपाली महिला खेलाडीले एथ्लेटिक्समा जितेको पहिलो स्वर्ण हो ।
महिला म्याराथनको स्वर्ण नेदरल्यान्ड्सकी हसन सिफनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेर जितिन्। इथियोपियाकी असेफा टेगेस्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै रजत र केन्याकी ओबिरी हलेनले २ घन्टा २३ मिनेट १० सेकेन्डमा कास्य पदक हात पारिन्।
यसअघि नेपालबाट प्रतिस्पर्धा गरेका ६ खेलाडीको पनि पहिलो चरणमै चुनौती सकिएको थियो। जसमा ब्याडमिन्टमा प्रिन्स दाहाल, टेबलटेनिसमा स्यान्टु श्रेष्ठ,सुटिङमा सुस्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह थिए। यससँगै नेपाल यो ओलम्पिकमा पदक विहिन रहन पुग्यो ।