ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो

काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।
आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो ।

९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रनको योगदान गरे । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्बाधिक ३५ रन बनाए भने जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । टोरोन्टोका जसन बेहरेन्डोर्फ तीन, रोमारिओ शेफर्डले दुई, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एकरएक विकेट लिए । तीन विकेट लिएकाजसन प्लेयर फ म्याच भए ।

शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो । पहिलो क्वालिफायर्स वर्षाका कारण रद्द भए पनि लिगको शीर्ष स्थानमा रहॅंदै प्लेअफमा स्थान बनाएको कारण मोन्ट्रियल टाइगर्स फाइनलमा पुगेको थियो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।