रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट युक्रेनी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्। एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए।

ूतोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जवाफ पाउँछन्,ू किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने। एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

युक्रेन समर्थित एउटा समूहले पनि छिटपुट आक्रमण गर्दै आएको कुर्स्क क्षेत्रमा किएभले सबैभन्दा ठूलो योजनाबद्ध आक्रमण गरेको हो। उनीहरूतर्फ सकेसम्म धेरै क्षति पुर्‍याएर अस्थिर अवस्था सिर्जना गर्दै रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने बनाउनु हो,” ती अधिकारीले भने।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ। तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।
बीबीसी