पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ ।
अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक वर्ष विदेशबाट फर्काइने नेपालीहरुको संख्या बढिरहेको पाइएको छ । सन् २०२१ मा ८७९ नेपाली फर्काइएका थिए । सन् २०२२ मा १ हजार १६६ जना फर्काइएको तथ्यांक छ । सन् २०२३ मा १ हजार ४४२ र २०२४ को सात महिनामा ४८९ जना नेपालीहरु फर्काइएका छन् ।
पछिल्लो तीन वर्षमा नेपालको प्रमुख श्रम गन्तव्य युएईबाट ७९९, साउदी अरेबियाबाट ५०३, मलेसियाबाट ३८९, कतारबाट १८० जना स्वदेश फर्काइएका छन् । टर्कीबाट २५७, जापानबाट १८०, दक्षिण कोरियाबाट १४९, युक्रेनबाट १२४, रसियाबाट १०७, रोमनियाबाट ९४, अमेरिकाबाट ९३, क्रोएसियाबाट ७८ र साइप्रसबाट ८९ जना नेपाली फर्काइएका छन् ।