काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मूख्य आकर्षण छन् । उनी तीन पटक विश्वकप खेलिसकेका जापानका विश्वचर्चित स्टार हुन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।
राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्चा ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ । उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा होन्डाहसित ११ विदेशी खेलाडी छन् ।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले पारोमा धेरै विदेशी हुँदा खेल्न गाह्रो हुने भए पनि आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताए । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिममा वर्ल्ड क्लास प्लेअर रहेको बताए । उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् ।
प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनले गर्दा खेल्न केही कठिन हुने बताए । चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो । च्यालेन्ज कप प्लेअफ विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्छ ।