काठमाडौं । थाईल्यान्डमा एक अदालतले संविधान उल्लङ्घन गरेको आरोपमा प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर अवज्ञापूर्ण व्यवहार देखाएको र नैतिकताको नियम उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ।
सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ।
अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन्। म आफ्नो इमानप्रति विश्वस्त छु, मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ, अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने। उक्त अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाईल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ।
थाईल्यान्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ। त्यहाँ पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए। थाईल्यान्डमा धेरै मानिसहरूले यो निर्णयलाई राजनीतिक मान्ने छन्। पिजित चिन्बानलाई मन्त्री बनाएपछि गत मे महिनामा ४० जनाजति सांसदले प्रधानमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए। घुस लेनदेनको प्रयासमा दोषी ठहर भएपछि चुन्बानलाई छ महिनाको जेल सजाय सुनाइएको थियो।
विवाद भएपछि चुन्बानले आफू मन्त्री नियुक्त भएको १९ दिनपछि राजीनामा दिएका थिए। बुधवार संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशहरू उक्त नियुक्ति गर्दा प्रधानमन्त्रीले आफ्नो पदीय आचरण उल्लङ्घन गरेको निष्कर्षमा पुगे। नौवर्षे सैन्य शासन अन्त्य भएसँगै टवीसिन गत वर्ष अगस्टमा प्रधानमन्त्री नियुक्त भएका थिए।
गत वर्ष भएको निर्वाचनमा धेरै सीट जितेको मूभ फर्वर्ड पार्टीलाई रोक्ने प्रयास भएसँगै बनेको राजनीतिक समीकरणका बलमा टवीसिन प्रधानमन्त्री बन्न सफल भएका थिए।देशको अर्थतन्त्र सुधार गर्न सङ्घर्ष गरिरहेको थाईल्यान्डमा अब नयाँ प्रधानमन्त्री छान्न नेपथ्यमा निकै मोलतोल हुने छ। दुई पटक भएको सैन्य कूपछि पुनः प्रजातान्त्रिक पद्धतिमा फर्किन खोजेको थाईल्यान्डमा राजनीतिक अस्थिरता सकिएको अपेक्षा फेरि तुहिएको छ।
निर्वाचनपछि पिटा लिम्जार्याटले नेतृत्व गरेको मूभ फर्वर्ड पार्टीले सरकार बनाउने ठानिएको थियो। तर सेनाको प्रभाव रहेको सिनेटले त्यसो हुन दिएन।
त्यसपछि दोस्रो ठूलो दल फूए थाईले सेनाले समर्थन गरेका अरू दलहरूसँग सहमति गर्दा टवीसिन सत्तामा पुगे। गत साता सोही अदालतले निर्वाचनका बेला असंवैधानिक वचन दिएको भन्दै मूभ फर्वर्ड पार्टी विघटन गर्ने आदेश दिएको थियो। अदालतले उक्त पार्टीका ११ सांसदलाई १० वर्ष राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
बीबीसी