युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् ।

पछिल्लो समय अमेरिकाको लस एन्जलस बस्दै आएकी करेलिनालाई पारिवारिक भ्रमणका क्रममा गत जनवरीमा यकातेरिनबर्गबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रुसी अभियोजनकर्ताले उनलाई १५ वर्षको जेल सजाय दिइनुपर्ने मागसहित मुद्दा दायर गरेका थिए ।

मुद्दाको सुनुवाइका क्रममा करेलिनाका वकिल मिखाइल मुसाइलोभले रुस–युक्रेन युद्धबाट पीडित भएका दुवै पक्षलाई सहयोग गरिने विश्वासमा उनले उक्त रकम सहयोग गरेको बताएका थिए । रुसी सञ्चार माध्यमसँग कुरा गर्दै उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएका छन् ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै रुसले युद्धको आलोचना गर्ने र रुसी सेनाको बदनाम गर्नेहरूलाई कारबाही गर्ने कानुन ल्याएको थियो ।