काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्य दुई पदार्थमा भने भाउ बढेको छ ।
बढेको मूल्य बुधबार बिहान १२ बजेबाट कार्यान्वयनमा आएको छ । पेट्रोलसहित हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्यसमेत यथावत राखिएको छ ।
समायोजनपछि निगमको डिपो (बिक्री विन्दुदेखि १५ किमि क्षेत्रभित्र) डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा ९८ रुपैया कायम भएको छ ।
पोखरा र दाङमा ९७.५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । तराई क्षेत्रमा ९६.५० रुपैयाँ प्रतिलिटर राखिएको छ ।
मूल्य समायोजन पछि पनि भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगमले उल्लेख गरेको छ ।